Published Date 2081-04-03

मानवसेवा आश्रम अभिभावक परिवार पर्साको पुनर्गठन भएको छ । आज बसेको अभिभावकहरुको भेलाले व्यवसायी तथा समाजसेवी हरी गौतमलाई सर्वसम्मत मानवसेवा आश्रम अभिभावक परिवार पर्साको संयोजक चयन गरेको हो । यस्तै अभिभावक प्रकाश थारु र मिनाक्षि गुप्ता सहसंयोजक चयन हुनुभएको छ ।

१५ सदसीय अभिभावक परिवारमा मानवसेवा आश्रम जिल्ला संयोजक अनिवार्य सदस्य सचिव रहने प्रावधान अनुसार मानवसेवा आश्रम पर्सा जिल्ला संयोजक मुना पुलामी मगर सदस्य सचिव हुनुभएको छ भने समितिमा ११ जना सदस्य छन् । हरेक सदस्य एक विषयगत समतिको संयोजक हुने प्रावधान बमोजिम ११ विषयगत समिति संयोजक समेत चयन भएको छ ।

विषयगत समितिमा अक्षयकोष प्रवद्र्धन समिति संयोजक गणेश लाठ, भोजनसेवा प्रवद्र्धन समिति संयोजक मुकेश खेतान, जिन्सी सामाग्री सहयोग प्रवद्र्धन समिति संयोजक नुतन सरावगी, मासिक योगदान प्रवद्र्धन समिति संयोजक कमल चौगाईं, जनसम्पर्क प्रवद्र्धन समिति संयोजक रम्बा मिश्रा, तालिम तथा कार्यक्रम समिति संयोजक सरोज प्रसाद चौधरी, खरिद समन्वय समिति संयोजक प्रकाश अमात्य, स्थानीय तह समन्वय समिति संयोजक उमेश गुप्ता, औषधीउपचार प्रवद्र्धन समिति संयोजक प्रकाश खण्डेलवाल, उद्धार तथा पारिवारीक पुनर्मिलन समिति संयोजक ओम कुमार झा चयन हुनुभएको हो ।

आज मानवसेवा आश्रमका प्रमुख संस्सापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीको प्रमुख आतिथ्यता तथा प्रा.डा. दिपक शाक्यको अध्यक्षतामा बसेको अभिभावक परिवार बैठकले मानवसेवा आश्रम पर्सा शाखाको अभिभावक परिवार पुनर्गठन गरेको हो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि एवं मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रम पर्सा शाखाको स्थापनाकै समयदेखी आश्रमलाई तन, मन र धनको त्रिवेणीबाट योगदान गर्नुहुने सम्पूर्ण अभिभावक परिवार सदस्यहरुलाई धन्यबाद ज्ञापन गर्नुहुँदै नवगठित अभिभावक परिवारलाई शुभभावना राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन मानवसेवा आश्रमका केन्द्रीय सचिव एवं मधेस प्रदेश प्रमुख सुमन बर्तौलाले गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा नवगठित अभिभावक परिवारको सहसंयोजक दोय प्रकाश थारु, मिनाक्षि गुप्ता र संयोजक हरी गौतमले कार्यक्रममै आफ्नो प्रतिवद्धता सहितको मन्तव्य राख्नुभएको छ । मूलतः सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पर्सा जिल्ला घोषणा गराउन, मानवसेवा आश्रमको सेवा व्यवस्थापनका लागि आवश्यक स्रोत जुटाउन र निर्माणाधिन अवस्थमा रहेको भवननिर्माणलाई पूर्णता दिन यो समिति कृयाशिल रहने छ ।

यस्तै भेलाले मानवसेवा आश्रम पर्साका संस्थापक अभिभावक परिपार संयोजक समेत रहनुभएका प्रा.डा दिपक शाक्य, समाजसेवी सञ्जय खेतान, वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, माननीय प्रदेश सभा सदस्य रमेश कुर्मी र प्रतिनिधि सभा सदस्य माननीय विना जैसवाललाई मानवसेवा आश्रम पर्सा शाखाको संरक्षक मनोनयन गरेको छ ।

मानवसेवा आश्रम खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारिरीक रुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ ।

देशभर सातै प्रदेशको विभिन्न २४ जिल्लामा २४ ओटा सेवोकन्द्रहरुमार्फत मानवसेवा आश्रमले ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ । हाल आश्रमको विभिन्न सेवाकेन्द्रहरुमा १६९७ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु आश्रित छन् ।

आदर्श नगर पुरानो बसपार्क सँगै रहेको तृसला रेस्टुरेन्टमा अभिभावक परिवार भेला बसेको थियो । भेन्यु र खाजा सौजन्य गरी सहयोग गर्ने तृसला रेस्टुरेन्ट परिवार प्रति हार्दिक आभार, सादर नमन् ।।