
पुसे ठण्डीमा काठमाडौँबासीलाई न्यानो माया दिएर सकियो नेपथ्य सङ्गीत यात्रा,पूर्वप्रधानमन्त्री ओलीदेखि पूर्वमन्त्री गगन थापासम्म उपस्थित
नारायण ढुङ्गाना,
काठमाडौँ, १७ पुस
पुसे ठण्डीमा नेपालको चर्चित साङ्गीतिक समुह नेपथ्य व्याण्डले गएराती ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई सङ्गीतको न्यानो माया छर्यो ।
मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तरगत काठमाडौँको यो यसपालिको अन्तिम वा १०औँ सङ्गीत यात्रा हो । देश दौडाहाका क्रममा जिल्लाका नौ वटा कार्यक्रम सकेर काठमाडौँ भित्रिएको नेपथ्यले भृकुटीमण्डपमा झण्डै ५ हजार सङ्गीतपारखीलाई मज्जाले झुमायो ।
नेपथ्यका नायक एबं मुख्य गायक अमृत गुरुङले दर्शकले भरिएको भृकुटीमण्डपमा राष्ट्रिय भावनाले ओतप्रोत तथा सदाबहार पुराना र चर्चित लोकपप गीतहरु प्रस्तुत गर्नुभयो । उहाँ सङ्गीतको दुनियामा छुट्टै व्याण्ड लोकपप सङ्गीतका साथ दर्शकसामु ३३ वर्षदेखि सक्रिय हुनुहुन्छ । देशविदेशमा नेपथ्यको छुट्टै चाम छ ।
चिसो मौसममा प्रस्तुत उहाँका गीतमा दर्शकले धुलो उडाएरै नाचे । त्यसो त अमृत गुरुङको आफ्नो प्रस्तुति र हाउभाउ नै जुरुकजुरुक पार्ने खालको हुन्छ । आफ्नै सङ्गीतमा गायक आफैँ चुर्लुम्म डुबेपछि दर्शकले साथमा साथ दिए भने हो मा हो मिलाए । कस्तो दमदार प्रस्तुति भनेर दर्शकले खुब तारिफ पनि गरे । हरेक गीतले दर्शकको वान्समोर पायो ।
यसरी तारिफ गर्नेमा पूर्व प्रधानमन्त्री नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, नेपाली काँग्रेसका महामन्त्री गगन थापा महजोडीलगायत नेपाल सरकारका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारीहरु सरिक हुनुहुन्थ्यो । ओली र थापाले त कार्यक्रम अबधिभर साथ दिनुभयो ।
गायक गुरुङले भृकुटीमण्डपको मञ्चबाट नयाँ गीत भटभटेबाट दैलो उघार्नुभएको थियो । त्यसपछि भेडाको ऊनजस्तो, छेक्यो छेक्यो, उडायो रेलैले, जोमसोमे बजार, शिरफूल शिरैमा, यो जिन्दगी, गाउँगाउँबाट उठ जस्ता गीतमा दर्शकलाई उचाल्यो । यो जिन्दगानी गाउँमा पुष्टभूमिमा प्रस्तुत भएको आश्रममा आश्रित बेसहारा तथा असहायहरुको तस्वीरहरुले दर्शकलाई सोच्न बाध्य पारेको थियो ।
शनिबार नै गायक गुरुङको जन्मदिन परेकाले दर्शकदीर्घाबाटै ‘ह्याप्पी वर्थडे’को ठुलो हुटिङ आयो । गायक गुरुङले शीर निहुर्याएर धन्यवाद भन्नुभयो । गीतसङ्गीतको बीचबीचमा सन्देशमुलक भावना व्यक्त गरी उहाँले सामाजिक सचेतना जगाउने काम पनि गर्नुभयो ।
कसैले नगरेको काम मानवसेवा आश्रमले गरेकाले आफ्नो तर्फबाट सक्दो सहयोग गरेर पूण्य कमाउन र मानवसेवा आश्रमले निर्माण गरिरहेको भवन (मानवताको मन्दिर) मा सहयोग गर्न उहाँले मञ्चबाटै आव्हान गर्नुभयो । उहाँले भन्नुभयो, “मानवसेवाका लागि आश्रमलाई धन हुनेले धन दिउँ, नहुनेले श्रम दिउँ ।”
त्यसपछि उहाँले जोगले हुन्छ भेट, मैँ नाचे छमछमीपछि रेशम र तालको पानी गाउँमा दर्शकले थप मच्चिमच्चि नाचेर मनोरञ्जन लिए । प्याराफिटमा रहेका पूर्वप्रधानमन्त्रीसहितका अतिथिहरुले तालीले साथ दिनुभयो ।
गयक गुरुङले बेलाबेलामा गायकी रोकेर उपस्थित राजनीतिाज्ञहरुलाई इङ्कित गर्दै अब देश विकासमा एकीकृत भएर लाग्न र विकासको मुल फुटाउन आग्रह गर्नुभयो । उहाँले मुलुकको विकास हामी आफैँले गर्ने हो भन्दै सन्देश पनि बाँड्नुभयो । उहाँले नेपालमा रोजगारी सिर्जना गरी नेपालीहरुलाई विदेश जानबाट रोक्नका लागि पनि राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभयो ।
मानवता प्रवद्र्धनका लागि गत मङ्सिर १९ गते विराटनगरबाट शुरु भएको नेपथ्य सङ्गीत यात्रा पुस १६ गते शनिबार काठमाडौँमा आएर विट मारिएको हो । यसअघि मङ्सिर १९ गते विरगञ्ज, २२ गते हेटौँडा, २५ गते चितवन, २९ गते नेपालगञ्जमा नेपथ्य गुञ्जिएको थियो ।
त्यसपछि पौष ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल र १२ गते पोखरामा भएको थियो । हरेक कार्यक्रममा कम्तिमा ५ देखि ८ हजारसम्म दर्शक सहभागि भएका जनाइएको छ ।
कार्यक्रमले मानवता प्रवद्र्धनका साथै मानवसेवा आश्रममा आश्रितहरुका लागि खाना, नाना र छाना जुटाउन, देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि कोसेढुङ्गा हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
एक दशक अघि २०६९ सालमा स्थापना भएको उक्त आश्रममा हाल एक हजार ६०० सडकआश्रित मानवहरु संरक्षित छन् । देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडकपेटीमा बेवारिसे मानिसहरु नरहने अबस्था सिर्जना गर्ने योजना सार्वजनिक गरेको छ ।
–––