Published on 2079-08-07

काठमाडौँ, ७ मङ्सिर,

मानवता प्रवद्र्धनका लागि नेपालका प्रमुख १० शहरहरुमा हुन लागेको मेची–महाकाली संगीत यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’को तयारी तिब्र रुपमा अघि बढेको छ ।

उक्त कार्यक्रमको प्रतिक्षामा आम–नेपालीहरु रहेका छन् भने मानवसेवा आश्रमले छलफल, प्रचारप्रसार तथा भेटघाट र टिकट विक्रीलाई तिब्रता दिएको छ ।

यही मंसिर १६ गते विराटनगरबाट शुरु भई पुस १६ गते काठमाडौँमा आएर समापन हुने उक्त संगीत यात्राले यसपाली मानवता प्रवद्र्धनमा ठुलो टेवा पुर्याउने विश्वास गरिएको छ ।

मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा आश्रमको अक्षयकोष निर्माणका लागि सहयोग जुटाउन चर्तिन नेपथ्य व्याण्डसँगको सहकार्यमा आश्रमले उक्त कार्यक्रम गर्न लागेको हो ।

आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले आजसम्म हजारौँ टिकट विक्री भएको र सहआयोजक, प्रायोजक र प्रवद्र्धककका लागि केही संस्थासँग सम्झौता भइसकेको र केही संघसंस्थाबाट तिब्र इच्छा प्रकट भएको जानकारी दिनुभयो । इन्टरनेट सेवा प्रदायक संस्था वल्र्डलिंकले ‘पावर्ड बाई स्पोन्सर’ नै रहने गरी सम्झौतासमेत गरिसकेको छ ।

अन्य सरकारी तथा नीजि संस्था एबं बैंकहरुले खुलेर सहयोग गर्ने जनाइसकेका आश्रमले बताएको छ । कतिपय संस्था र व्यक्तिबाट आश्रमको कोठा निर्माणका लागि सहयोगको घोषणासमेत गरिसक्नुभएको छ ।

‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ अन्तर्राष्ट्रियस्तरको उक्त लाइभ कन्सर्ट आगामी मङ्सिर १६ गते विराटनगरपछि मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा हुनेछ ।

यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र १६ गते काठमाडौँको भृकुटीमण्डपमा कन्सर्ट हुनेछ ।

कुन शहरमा कस्तो छ तयारी...

ती १० प्रमुख शहरहरुमा तयारी तिब्रतर रुपमा अघि बढेको छ । आ।मका अभियन्ताहरुलाई अभिभावकहरु, सहयोगी तथा शुभेच्छुकहरुले कार्यक्रम सफलताका लागि खुलेर सहभागिता जनाइरहनुभएको छ ।

विराटनगरमा हुने पहिलो कार्यक्रमको तयारी अन्तिम चरणमा

मानवसेवा आश्रम विराटनगर संयोजक पार्वती तिवारीका अनुसार मंसिर १६ गते हाटखोला मैदानमा हुने पहिलो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराटनगरमा टिकट विक्री करिवकरिव सकिन लागेको उहाँले बताउनुभयो । यस्तै विराटनगर महानगरले सहआयोजक बन्ने प्रतिवद्धता जनाएको र अन्य संस्थाहरुसँग समेत सम्झौता हुने क्रममा रहेकोछ । भारतबाट पनि टिकटका लागि फोन आइरहेको आश्रमले जनाएको छ ।

पर्सामा यस्तो छ तयारी

मानवसेवा आश्रम पर्सा संयोजक सानु गुरुङले १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशालामा हुने कार्यक्रमको तयारीमा वीरगञ्ज नै जुटेको बताउनुभयो ।

प्रचारप्रसार अघि बढिरहेको तथा टिकट राम्रो विक्री भएको उहाँले बताउनुभयो । स्कुल, क्याम्पसबाट टिकटको माग आइरहेको र विभिन्न संस्थाले सहकार्य गर्न इच्छा प्रकट गरेको पनि उहाँले बताउनुभयो । पर्साका समाजसेवी तथा विभिन्न परोपकारी व्यक्तिहरुले भवनको कोठा निर्माणको जिम्मासमेत लिइसक्नुभएको उहाँले बताउनुभयो ।

मकवानपुरमा तयारीको अबस्था

आश्रमको मकवानपुर शाखाका संयोजक हुमनाथ पौडेलका अनुसार २२ गते हेटौँडाको भुटनदेवी चौरमा हुने कार्यक्रमको सोचे भन्दा राम्रो तयारी भइरहेको छ ।

विभिन्न संस्थाका प्रतिनिधिले नै टिकट विक्रीको जिम्मा लिइसक्नुभएको उहाँले बताउनुभयो । “प्रचारप्रसार तिब्र पारिरहेको तथा टिकट राम्रो गइरहेको छ, केही संस्थाहरुबाट सहप्रायोजक बन्ने प्रतिबद्धता आइरहेको छ, हामी खुसी छौँ, वार्षिक भोजनसेवा सदस्यहरु पनि आइरहनुभएको छ”, पौडेलले सुनाउनुभयो ।

चितवनको तयारीमा थप उत्साह

चितवनको तयारीमा लाग्नुभएकी आश्रमको बागमती प्रदेश संयोजक निता केसीले तयारीमा जुन प्रतिक्रिया तथा सहयोग आइरहेको छ त्यसले थप उत्साहित बनाएको बताउनुभयो ।

उहाँले धेरै ठाउँमा प्रपोजलहरु दिने क्रम जारी रहेको र सकारात्मक प्रतिक्रियाहरु आइरहेको बताउनुभयो । केसीले भन्नुभयो, “अभिभागक तथा संस्थागत रुपमा सम्पर्क भेटघाटहरु जारी रहेको छ, प्रतिक्रियाहरु राम्रो छ, सकारात्मक छ, बैंकहरुले पनि सहयोग गछौँ भनेर टिकटहरु लिनेक्रम जारी छ, मिडियाहरुले पनि सहयोग गर्दा खुसी छौँ, सकारात्मक उर्जाले हामीलाई थप हौसला दिएको छ ।” मंसिर २५ गते नारायणगढको क्याम्पाचौरमा नेपथ्य गुञ्जिने छ ।

नेपालगञ्जमा यस्तो छ तयारी

आश्रमको बाँके जिल्ला संयोजक उर्विन सापकोटाका अनुसार मंसिर २९ गते नेपालगञ्जको रङ्गशालामा हुने नेपथ्य कन्सर्टको तयारी तिब्र रुपमा भइरहेको छ । उहाँले जिल्लाका युवाहरुमा बढी उत्साह देखिएको बताउनुभयो ।

“प्रायोजनका लागि बैंक, संघसंस्थाबाट प्रतिबद्धताहरु आइरहेको छ, प्रपोजल पठाउने काम जारी छ, सकारात्मक सुझावका कारण धेरै राम्रो कार्यक्रम हुन्छ भन्ने सोचेका छौँ”, उहाँले भन्नुभयो ।

धनगढीमा पनि तयारी तिब्र

मानवसेवा आश्रमको कैलालीका संयोजक लोकेन्द्र शाहका अनुसार पौष ३ गते धनगढी रङ्गशालामा हुने नेपथ्य लाइभ कन्सर्टको पनि तयारी तिब्र पारिएको छ । प्रचारप्रसारका कामहरु तिब्र रुपमा भइरहेको उहाँले बताउनुभयो । चुनावका कारण थाती रहेका कामहरुलाई थप प्रभावकारी पारिएको र सहयोगीहरु ब्ढ्दो क्रममा रहेको बताउनुभयो ।

सुर्खेतमा नेपथ्यको उत्साह

मानवसेवा आश्रम सुर्खेतका संयोजक सुजन गौतमका अनुसार पुस ६ गते सुर्खेतको खुल्लामञ्चमा हुने नेपथ्य लाइभ कन्सर्टका लागि जिल्लामा पनि तयारीलाई तिब्र पारिएको र सकारात्मक प्रतिक्रियाहरु आइरहेको छ ।

अहिले सुर्खेतमा व्याननर राख्ने, टिकट विक्री गर्ने, स्टिकर टाँस गर्ने काम जारी रहेको गौतमले बताउनुभयो । अहिले सहआयोजक, प्रवद्र्धक र प्रायोजकहरुका लागि भेटघाट जारी रहेको छ । सयौँको संख्यामा टिकटहरु गइसकेको पनि उहाँले बताउनुभयो ।

बुटबलमा धेरै टिकट गैसक्यो

रुपन्देहीका संयोजक टिका थापाका अनुसार पुस ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदानमा नेपथ्य आउँछ भनेपछि उत्साह बढेको छ । उहाँले विभिन्न संस्थाहरुले लिएर टिकट लिने क्रम जारी रहेको बताउनुभयो ।

विभिन्न संसथहरुबाट ३,४ हजार टिकट विक्रीको प्रतिबद्धता आएको पनि उहाँले बताउनुभयो । रोटरी क्लब अफ डाउन टाउनले २ हजार टिकल विक्री गर्ने घोषणा समेत गरिसकेको छ ।

चुनावले केही दिन प्रभावित भएको भए पनि आजबाट चहलपहल बढेको र प्रतिक्रियाहरु सकारात्मक रहेको उहाँको भनाइ छ ।

यस्तो छ कास्कीको तयारी

कास्कीका संयोजक सदिश पुनका अनुसार पुस १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य आउने खबर सुनेर नेपालकै दोस्रो पर्यटकीय नगरी पोखराका स्थानीयमा छुट्टै उत्साह देखिएको छ । पोखरा महानगरले प्रवद्र्धक बन्ने प्रतिबद्धता जनाएको छ भने टिकट विक्री धमाधम भइरहेको उहाँले बताउनुभयो ।

अहिले आश्रमले स्टिकर, व्यानर टाँस्ने, क्याम्पस, बैंक, होटलमा गएर भेटघाटट गर्ने गरिरहेको र सबै क्षेत्रबाट बेसहारा तथा अभिभावकविहिनहरुका लागि सहयोग गर्नेपर्छ भनेर सकारात्मक प्रतिक्रिया आइरहेको जनाइएको छ ।

काठमाडौँमा पनि तयारी शुरु

मानवसोव आश्रमका काठमाडौँ संयोजक मनिषा खत्रीले पुस १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुने नेपथ्य लाइभ कन्सर्टको पनि तयारी शुरु भएको बताउनुभयो ।

उहाँका अनुसार अहिले अनलाइनबाट टिकट विक्री जारी छ । प्रचारप्रसार तथा अभिभावकहरुलाई टिकट वितरण, प्रायोजक, सहप्रायोजकहरुसँग छलफल भइरुहेको र सहयोगको प्रतिबद्धताहरु आइरहेको छ ।

एक महिना पछि काठमाडौँमा कार्यक्रम हुने भएकाले अहिले अन्य जिल्लाका कार्यक्रमहरु सफल बनाउने काममा समेत काठमाडौँ आश्रमले अभियानहरु चलिरहेको छ ।

थप जानकारीका लागि भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.facebook.com/msa2082/videos/528653782200536