Published on 2079-05-13

हेटौंडा – मानवसेवा आश्रमले दशौँ बार्षिकोत्सव सम्पन्न गरेको छ । आश्रमले हेटौंडामा रहेको मुख्य कार्यालयमा सप्ताहव्यापी कार्यक्रम गरी बार्षिकोत्सव सम्पन्न गरेको हो ।

बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादवचन्द्र शर्मा, मानवसेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन र आश्रमका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष रामजी अधिकारले संयुक्त रुपमा पानसमा रहेको दीप प्रज्वलन गरी बार्षिकोत्सव कार्यक्रमको औपचारिक समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मानवसेवा आश्रमका मकवानपुर जिल्लाका संरक्षक एवं शिक्षाविद पुरण बहादुर जोशीले आश्रमको स्थापनलाई स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, मानवसेवा आश्रमले १० बर्षको अवधिमा यहाँसम्म आइपुग्नका लागि धेरै मेहनत गरेको छ । स्थापनाको समयमा स्थायीत्वका कुरा गर्दा सबैले यो पनि अरु जस्तै २÷४ महिनाको लागि हो भन्थे ।

त्यस्तै ४ वटा जिल्ला पार गरेर कार्यक्रममा उपस्थित हुनुभएका धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आश्रमको अन्य जिल्लाको कार्यक्रममा सहभागी भएको अनुभव राख्दै मुख्य कार्यालयमा दशौँ बार्षिकोत्सवको अवसरमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

चितवनदेखी आउनुभएका उद्यमी टंकनाथ पौडेलले मानवसेवा आश्रमको सेवा बुझ्नका लागि कम्तिमा एक पटक पुग्नुपर्ने र त्यसका लागि सबैजनालाई एक पटक मानवसेवा आश्रमको अवलोकनका लागि सबैलाई अनुरोध गर्नुभयो । उहाँले कार्यक्रमको सन्दर्भमा आश्रमको सेवाको लागि रु. १ लाख रकम समेत प्रदान गर्नुभयो ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति दिपक शाक्य, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मानवसेवा आश्रम धनुषाका अभिभावक पवन सिंघानीया, बागमती प्रदेश सरकारका कानून मन्त्रालयका सचिव लगायत अन्य थुप्रै महत्वपूर्ण व्यक्तिहरुको उपस्थितिले कार्यक्रम आयोजना गरिरहेका मानवसेवा आश्रमका अभियन्ताहरुलाई प्रेरणा गरेको थियो ।

कार्यक्रममा मानवसेवा आश्रमका सचिव सुमन बर्तौलाले संस्थाको १० बर्षको संस्मरण प्रस्तुत गर्नुभएको थियो । आजको दिनसम्म मानवसेवा आश्रमले यो दश बर्षको बीचमा ७ हजार २ सय ७७ जनाको उद्धार भएको छ । २७८७ जनाको पारिवारीक पुनर्मिलन गराइएको छ । यस बर्षमात्रै देशभरबाट १४३१ जनाको उद्धार भएको छ भने ५६३ जनाको पारिवारीक पुनर्मिलन भएको छ ।