Published on 2079-05-09

हेटौंडा - मानवसेवा आश्रमले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारेर मुख्य कार्यालय रहेको धापटोल क्षेत्रलाई सरसफाई गरेको छ । हेटौंडा उपमहानगरपालिका - ९, लामसुरे धापमा रहेको आश्रमको मुख्य कार्यालय परिसरमा सरसफाई कार्यक्रम गरिएको हो ।

मानवसेवा आश्रमका अभिभावक एवं कार्यक्रमका सभाध्यक्ष, यस धापटोल विकास संस्थाका अध्यक्ष लिला थापाज्यू, सशस्त्र प्रहरी बल नम्बर १४ गण, हे.क्वा. का डिएसपी रमेश भुवाजीज्यू, हेटौंडा उपमहानगरपालिका - ९ का वडा अध्यक्ष सुकराम केसीज्यूले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै टोल विकास संस्थाका अध्यक्ष थापाले पहिले पहिले धापटोल कहाँ छ भनेर खोज्नुपर्ने अवस्था रहेको र अहिले मानवसेवा आश्रमले टोलको पहिचान दिलाएको बताउनुभयो ।

मानवसेवा आश्रमले भदौ १३ गतेको वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको हो ।

भाद्र १० गते आश्रमले बिहान ७ बजेदेखि दिनभर मकवानपुर जिल्लाका विभिन्न ठाउँमा सहयोगापेक्षी सडकआश्रित मानवहरूको वृहत उद्धार कार्यक्रम, भाद्र ११ गते विहान ८ बजेदेखि ११ बजेसम्म मुठ्ठीदान कार्यक्रम र बेलुका ४ बजेदेखि ६ बजेसम्म कुशे औँशी विशेष कार्यक्रम, भाद्र १२ गते बेलुका ४ बजेदेखि ७ बजेसम्म दीप प्रज्वलन कार्यक्रम र भजन सन्ध्या कार्यक्रम गर्ने तालिका रहेको छ भने भाद्र १३ गते दिउँसो २ बजेदेखि ५ बजेसम्म मानवसेवा आश्रमको एक दशक (वार्षिकोत्सव) कार्यक्रम रहनेछ ।