
आजदेखी आफ्नै भवनबाट सेवा प्रवाह गर्दै मानवसेवा आश्रम चितवन शाखा
आजदेखी आफ्नै भवनबाट सेवा प्रवाह गर्दै मानवसेवा आश्रम चितवन शाखा
भरतपुर – मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) चितवन शाखाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ । आज आश्रमको आफ्नै घरमा गृह प्रवेश कार्यक्रम गरि यसबारे जानकारी गराइएको हो ।
भरतपुर – १०, बाइपास रोडमा घर भाडामा लिएर सञ्चालन भएको मानवसेवा आश्रमको पहिलो शाखा चितवन आजदेखि भरतपुर–३, बेलचोकमा भृकुटी स्कुलसँगै सरेको छ ।
मानवसेवा आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गर्दै आइरहेको छ । पारिवारिक पुनर्मिलन हुन नसक्नेहरुको लागि लौरी स्वरुपको सहारा बनेर लालनपालन, संरक्षण र औषधोपचार गर्दै आइरहेको छ ।
हाल मानवसेवा आश्रमले सातै प्रदेशको १९ जिल्लाहरुमा २७ वटा सेवा केन्द्रहरु विस्तार गरि देशै भरि सेवा प्रवाह गरिरहेको छ ।
कार्यक्रममा मानवसेवा आश्रमका परिकल्पनाकार, संस्थापक अध्यक्ष रामजी अधिकारीज्यू, चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माज्यू , स्थानीय समाजसेवी, मानवसेवा आश्रम चितवन शाखाका अभिभावक एवं जग्गादाता प्रेम कुमार श्रेष्ठज्यू, यस भवन निर्माण कार्यको नेतृत्व गरिरहनुभएका अभिभावक ओमकार कंडेलज्यू लगायत महत्त्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
जय मानवसेवा - जय मानवता !